सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ ।
साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उद्देश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले नीतिगत, कानूनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खराबी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानमा व्यवस्था भएको तीन खम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिने पनि बताउनुभयो ।
बजार अनुशासन, मर्यादा र कारोबारमा पारदर्शिता कायम गर्दै जनतालाई महसुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरूले कार्ययोजना नै बनाएर अगाडि बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
समारोहमा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने केशव बडाललाई प्रदान गर्नु भयो ।









प्रतिक्रिया राख्नुहोस्