तपाईँ सुन्दै हुनुहुन्छः

१६ करोड लागतको खानेपानी आयोजना शिलान्यास

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत् खानेपानी आयोजना शिलान्यास गरिएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गर्नु भएको हो । बराहताल गाउँपालिकाका–५, ६, ७ र ८ नम्बर वडाका करिब १२ सय घरधुरीलाई पानीको पहुँच पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न गरिएको हो । 

आयोजनाको अनुमानित लागत कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ मध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार ८ सय रुपैयाँ नेपाल सरकारको अनुदानसँगै १० प्रतिशत अर्थात् १ करोड ५९ लाख ४ सय रुपैयाँ उपभोक्ता आफैले व्यहोर्नु पर्ने छ । 

थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँ ऋण सम्झौता गरिएको बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिनुभयो । उहाँले पिउने पानीको दीर्घकालीन समस्या समाधानका लागि सह–लगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को शिलान्यास गरिएको बताउनुभयो । उहाँका अनुसार आयोजना अन्तर्गत स्किम नं. १ को चेपाङ, रक्सेनी, वसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुने छ । 

‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटर दरले पानी सङ्कलन हुनेछ,’ उहाँले भन्नुभयो, ‘यसरी प्रति सेकेण्ड १७ लिटर पानीलाई रिजर्भ ट्याङ्की मार्फत एकै पटक करिब १२ सय घरधुरीलाई सहजै खानेपानी पानीको सुनिश्चितता गरिनेछ ।’ उहाँले पश्चिम सुर्खेतको बराहतालका नागरिकलाई स्वच्छ पिउने पानीको पहुँच पुर्‍याउन सहयोग गर्ने सरोकारवालालाई धन्यवाद व्यक्त गर्नुभयो । 

आयोजना सम्पन्न शिलान्यास कार्यक्रममा बराहताल–५, का वडा अध्यक्ष तिलकबहादुर मर्साङ्गि मगर, ७ नम्बर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका इन्जिनियर महेन्द्रसिंह थारु, एन्फो संस्थाका प्रतिनिधिलगायत खानेपानी संस्थाका पदाधिकारी एवं उपभोक्ताहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button