मन्त्री पौडेलद्वारा काठमाडौँ मेडिकल कलेजको अनुगमन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौँ मेडिकल कलेजको अनुगमन गर्नुभएको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरी परेपछि मन्त्री पौडेलसहित प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको टोलीले अनुगमन गरेको हो ।
मन्त्री पौडेलले अनुगमनका क्रममा चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताउनुभयो ।
उहाँले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भन्नुभयो, “बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुहोस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।”
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेस गर्न पनि निर्देशन दिनुभएको छ ।
“भोलि बिहान १०ः०० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्”, मन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो ।
मन्त्री पौडेलसँगै केएमसी पुग्नुभएकी भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रवार बिहान साढे १०ः०० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाउनुभएको छ ।
काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधवारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् ।
बुधवार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनी समेत दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्