तपाईँ सुन्दै हुनुहुन्छः

कैलाश गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

मकवानपुर । मकवानपुरको बिकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन बुधवार उद्घाटन गरिएको छ ।

कैलाश–३ कालिकाटार स्थित २६ कोठे नवनिर्मित प्रशासकीय भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहहरूलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्न जिल्ला समन्वय समितिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसको निरन्तरता रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराइएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भए पनि सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असार ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविन/अविसा जेभीसंग २०७८ पुस ७ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयावधि भित्रै भवन निर्माण सम्पन्न गरेर आज उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी प्रमुख भगवती पुडासैनीले बिकट ठाउँमा स्थानीय सरकार सञ्चालनमा समस्या भइरहेको बेला कैलाश गाउँपालिकाकोले भवन निर्माण गरेर राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुहुँदै आफूले जनतालाई सधैँ उत्साहित बनाउने काम गरेको बताउनुभयो ।

भवनमा सामान्य केही काम गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका भवन र १० शय्याको अस्पताल निर्माणका लागि करिब १६ रोपनी जग्गा दाताहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button