नेपाली काँग्रेसको धनुषा सभापतिमा पंजियारको उम्मेदवारी घोषणा
जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशनमा सभापति पदमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारको उम्मेदवारी घोषणा भएको छ ।
पार्टीले आज जनकपुरधाममा आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश नंं २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पंजियरको नाउँ घोषणा गरेपछि पार्टीका जिल्ला सभापति महेश शंकर गिरीले समर्थन गर्नुभएको छ ।

घोषणा कार्यक्रममा प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले पंजियारले क्षिरेश्वरनाथ नगरपालिकाको विकासमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै धनुषामा पार्टीलाई बलियो बनाउनका लागि उहाँ उपयुक्त उम्मेदवार भएको बताउनुभयो ।
उहाँले धनुषाका नेपाली काँग्रेसका मतदाताहरूले पंजियारलाई भारी मतसहित निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका धनुषा जिल्ला सभापति महेश शंकर गिरीले पार्टीमा विभिन्न चरणको छलफलपछि पंजियारलाई जिल्ला अधिवेशनमा सभापति पदमा सर्व सम्मतिले उम्मेदवार बनाउने निर्णय भएको बताउनुभयो ।
कार्यक्रममा उम्मेदवार पंजियारले आफूले पार्टी सभापतिका लागि पहिलादेखि नै तयारी गरेको बताउँदै तरुण दलको जिल्ला उपसभापति, सभापति, ३ पटक क्षेत्रिय सभापति भएर काम गरेको उल्लेख गर्नुभयो ।
धनुषा सभापति पदका लागि नेपाली काँग्रेस धनुषाका उपसभापति सन्तोष यादव, सचिव विश्वेश्वर यादव तथा नेता दिनेश प्रसैलाको पनि चर्चा रहेको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश नंं २ का ८ जिल्लासहित १६ जिल्लाको जिल्ला अधिवेशन पुस २७ गते हुने भनिएकोमा राष्ट्रिय सभाको चुनावका कारणले माघ १५ गते हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्