राष्ट्र बैङ्कद्वारा मर्जरको कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्रस होल्डिङ रहेका लघुवित्त कम्पनीहरूलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैङ्कले सोमबार एक निर्देशन जारी गर्दै क ख र ग वर्गका एउटै बैङ्क तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरू बिच एक आपसमा मर्ज हुन कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र राष्ट्र बैङ्कलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
त्यसै गरी राष्ट्र बैङ्कले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले सोमबार एक सर्कुलर जारी गर्दै त्यस्तो व्यवस्था मङ्गलवारदेखि नै लागु हुने भएको छ ।
अर्थ मन्त्रालयले केही दिन अघि स्थानीय तहमा जाने रकमको ८० प्रतिशत बैङ्कहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न केन्द्रीय बैङ्कलाई पत्र काटेको थियो । सोही अनुसार केन्द्रीय बैङ्कले असर मसान्तसम्मको लागि ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।
केन्द्रीय बैङ्कले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम वाणिज्य बैङ्कहरूमा नै रहने र २० प्रतिशत रकम मात्र केन्द्रीय बैङ्कमा जम्मा हुने गरी प्रतिवेदन पेश गर्न भनेको छ ।








प्रतिक्रिया राख्नुहोस्