माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएको छ ।
ज्येष्ठ सदस्य दीननाथ शर्माको अध्यक्षतामा आज बसेको नवनिर्वाचित केन्द्रिय समितिको आज बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध निर्वाचित गरेको हो ।

उहाँको प्रस्तावकमा केन्द्रिय सदस्य नारायणकाजी श्रेष्ठ र समर्थकमा केन्द्रिय सदस्य कृष्णबहादुर महरा रहनुभएको थियो ।
अध्यक्षमा सर्वसम्मत चयन भए लगत्तै अध्यक्ष प्रचण्डले देश, जनता र पार्टीका निम्ति सेवा गर्ने आफ्नो लागि अन्तिम अवसर भएको भएको बताएको छ ।
उहाँले यस अवसरलाई आफूले सदुपयोग गर्ने बताउँदै प्रचण्ड व्यक्ति भएकाले प्रचण्ड नहुँदा पनि पार्टी चल्ने वातावरण बनाउने बताउनुभयो ।
केन्द्रिय समिति चयनमा भएको आलोचनामा नवनिर्वाचित अध्यक्ष प्रचण्डले आफूले एक्लै केही नगरेको र स्थायी समिति बैठकले छलफल गरेर महाधिवेशन हलबाट पारित गरेको समेत बताउनुभयो ।
आज दिउसो ३ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउसो ४ बजेपछि ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको थियो ।
माओवादी केन्द्रले केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षसहित पदाधिकारी चयन तथा मनोनयन गर्न बाँकी केन्द्रीय समितिका सदस्यको सूची समेत प्रस्तुत गर्ने बताइएको थियो ।
केन्द्रिय समितिको पहिलो बैठक १५ पदाधिकारीमध्ये अध्यक्ष पद मात्र चयन गर्दै पुस २५ गतेसम्मका लागि स्थगित भएको छ ।

महाधिवेशनले केन्द्रीय समिति चयन गरे पनि पोलिट ब्युरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ ।
यस्तै पोलिट ब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।
प्रज्ञा भवनमा आइतबार बन्द सत्रमा निवर्तमान अध्यक्ष एवम् केन्द्रिय सदस्य पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जनाको केन्द्रीय समिति घोषणा गर्नुभएको थियो ६३ सदस्य चयन गर्न बाँकी छ ।
पार्टीको विधान अनुसार पार्टीको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने र थप १५ प्रतिशत सदस्यको केन्द्रिय समितिले मनोनयन व्यवस्था छ ।
यसैबिच, आजै केन्द्रीय समिति सदस्यहरूले आज शपथ ग्रहण समेत गर्नुभएको छ ।
हिजो सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २ सय ३६ जना केन्द्रीय सदस्यहरूलाई आज निर्वाचन आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्