तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणको अवस्था बुझ्न उपाध्यक्ष पौडेलअछाममा

अछाम । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले अछाम जिल्लाका सरोकारवालासँग छलफल गर्नुभएको छ । 

उपाध्यक्ष पौडेलले अछाम जिल्लाका विकास निर्माण तथा अन्य आयोजनाका बारेमा छलफल गरी जानकारी लिनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका विकास निर्माणका योजना, राष्ट्रिय गौरवका योजना तथा अन्य विकास निर्माणका काम तथा आवश्यक योजनाका विषयमा छलफल गर्न प्रदेशका ९ वटै जिल्ला भ्रमण गर्ने क्रममा पौडेल अछाम पुग्नुभएको हो ।

उहाँले सो अवसरमा अछाम जिल्लामा भइरहेका विकास निर्माणको स्थिति र आवश्यक योजनाका विषयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेर आवश्यक सुझाव लिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीले  उपाध्यक्ष पौडेललगायतको टोलीलाई अछाम जिल्लाको समग्र विकास निर्माणका अवस्था र समस्याका बारेमा जानकारी गराउनुभयो ।

प्रजिअ मरासैनीले सेती लोक मार्गको काम तत्काल अघि बढाउनुपर्ने, मध्य पहाडी राजमार्गका विभिन्न खण्डमा गएका पहिरो पन्छाएर सडक सफा गर्नुपर्ने, कर्णाली चिसापानी-जंगलघाट- मङ्गलसेन सडकको काम अघि बढाउनुपर्ने, सड्क डिभिजन कार्यालय साँफेबगरले राम्रो सँग काम नगरेको गुनासो लगाएका विषयमा उपाध्यक्ष पौडेललाई जानकारी गराउनुभएको थियो ।

उहाँले  जिल्लाको सदरमुकाम मङ्गलसेनबाट हरेक पालिकाको केन्द्रसम्म कालोपत्रे बाटो हुनुपर्ने, बुढीगंगा जलविद्युत, माथिल्लो कर्णाली जलविद्युत र बेतन कर्णालीमा मुआब्जाका विषयमा भइरहेको विवाद अन्त्य गरी तीन वटै आयोजनाका काम अघि बढाउनुपर्ने जिल्लाका सरोकारवालाहरूको माग बारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा सहभागी अन्य सरोकारवालाले पनि आ-आफ्नो क्षेत्रसँगै जिल्लाका समग्र विकास निर्माणका सवालमा कुरा उठाउनुभएको थियो  ।

स्थानीय पालिकाका प्रमुखले जिल्लाका सबै पालिकामा शुद्ध खानेपानीको समस्या, २०६३ सालमा सुरु भएको अछाम दरबारको कामले पूर्णता नपाएको कुरा, अधुरा रहेका स्वास्थ्य चौकीको भवन निर्माण, ठेकेदारको लापरबाही, जीर्ण विद्यालयका भवन, पालिकाका मुख्य सड्क बाह्रै  महिना सुचारु हुनुपर्ने लगायतका माग  राख्नुभएको थियो ।

उहाँहरूले नेपालका चार धाम मध्येको एक वैद्यनाथ क्षेत्रको विकास, कटान रोक्न बुढीगंगामा तटबन्धन, रामारोशन पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग राख्नुभएको छ ।

जिल्ला अस्पताल र बयालपाटा अस्पतालको दीर्घकालीन सञ्चालनका लागि नियमित र आवश्यक बजेट व्यवस्था गर्नुपर्ने समेत माग गरिएको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले बताउनुभयो ।

जिल्लाको पर्यटन विकासको रुपमा रहेको साँफेबगर विमानस्थलको विस्तार गरी स्तरोन्नति गर्नुपर्ने, कमलबजार विमानस्थल सुचारुको लागि धावनमार्ग कालोपत्रेसहित अन्य काम गर्न बजेट विनियोजित गर्नुपर्ने लगायतका माग पनि राखिएको उहाँले बताउनुभयो   ।

यस्तै, जिल्लाका विभिन्न ठाउँमा पहिरोले गर्दा बस्ती नै स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसको लागि समेत आवश्यक बजेट व्यवस्था गर्नुपर्ने माग उठेको थियो ।

यस्तै विपद् न्यूनीकरणका लागि जिल्लामा आवश्यक श्रोत साधन समेत नभएकाले त्यसको समेत पहल गर्नुपर्ने लगायतका माग जिल्लाका सरोकारवालाहरूले राखेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button