२ सय ३६ सदस्यीय केन्द्रिय समितिको नामावली प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ सदस्यीय केन्द्रिय समितिको नामावली प्रस्ताव गर्नुभएको छ ।
उहाँले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीको नामावली पेश गर्नुभएको हो । अध्यक्ष प्रचण्डको प्रस्ताव पारित भए केन्द्रीय कमिटी चयन हुनेछ ।

माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्र अघिपछि र बन्द सत्र चलिरहेका बेला समेत स्थायी कमिटी बैठक बसेर केन्द्रिय सदस्य चयन सहमतिमार्फत गर्न पटक पटक छलफल गरेको थियो ।
यसअघि आजै माओवादी केन्द्रको बन्द सत्रले तीन वटा आयोगको नेतृत्व टुङ्गो लगाइसकेको छ ।
माओवादी केन्द्रले अनुशासन आयोगको अध्यक्षमा टङ्क राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई चयन गरेको हो ।
माओवादी केन्द्रको तीन आयोगमा पुरानै नेतृत्वलाई जिम्मेवारी दिएको हो । केन्द्रिय कमिटी बैठकमा उपस्थित हुन यी पाउने तीन वटै आयोग २५ सदस्यीय हुनेछ ।
सहमतिको प्रयास गर्दै आएको माओवादी केन्द्रले आज दिउसो १ बजे बन्द सत्र सुरु गर्ने भने पनि पुन दिउसो ४ बजेसम्म स्थगित भएको पुनः स्थायी समिति बैठक बसेका कारण निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको थियो ।
केन्द्रिय कमिटी चयनका लागि गरिएको सहमति प्रयास सफल नभएपछि महाधिवेशनको समयावधि लम्बिँदै आएको छ ।
माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहने व्यवस्था छ । जस अनुसार केन्द्रीय समितिमा ५० प्रतिशत पूर्ण समानुपातिक, ५० प्रतिशत खुल्ला र १५ प्रतिशत मनोनितबाट केन्द्रिय कमिटी चयन हुने व्यवस्था गरेको छ ।
केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था छ ।
समानुपातिक तर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खस आर्य तर्फ ४५, आदिवासी जनजातितर्फ ४३, मधेसीतर्फ २३, दलिततर्फ २२, थारुतर्फ १०, मुस्लिम ७, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ बाट २/२ जना रहने र खुलातर्फ १ सय ४५ जना केन्द्रिय सदस्य रहने विधानमा व्यवस्था छ ।
महाधिवेशनले केन्द्रीय कमिटी चयन गरे पनि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी भने केन्द्रीय कमिटीले गर्नेछ ।
यस्तै पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्