तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय सदस्य चयनको लागि मतदान हुने

फाइल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका संशोधन गर्दै केन्द्रीय सदस्य चयनका लागि भोलि बिहान मतदान गराउने भएको छ । 

काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका पुन संशोधन गदै भोलि बिहान ८ बजेका लागि मतदान कार्यक्रम सार्वजनिक गरेको हो । 

माओवादी केन्द्रले निर्वाचन तालिका संशोधन गर्दै आज ४ बजेबाट निर्वाचन प्रक्रिया अघि बढाउने गरी तेस्रो पटक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले यसअघि आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम राखेको थियो । 

आजै १ बजेसम्मका लागि स्थगित गरिएको बन्दसत्र समेत सहमति प्रयासका लागि दिउसो ४ बजेसम्मका लागि स्थगित भएको छ । 

केन्द्रिय सदस्यको टुङ्गो लगाउन माओवादी केन्द्रले हिजो पनि दिनभर सहमति प्रयास गरेको थियो । सो सहमति प्रयास सफल नभएपछि आज दिउसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको थियो ।     

बन्दसत्र अघिपछि र बन्दसत्र चलिरहेका बेलासमेत स्थायी समिति बैठक पटक पटक बसेर  केन्द्रिय सदस्य चयनका विषयमा छलफलसमेत गरेको छ ।  

माओवादी केन्द्रको जारी महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था सहितको विधान पारित गरेको थियो । 

नयाँ विधान अनुसार २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत पूर्ण समानुपातिक, ५० प्रतिशत खुल्ला र १५ प्रतिशत मनोनीतमार्फत केन्द्रिय समिति चयन हुने व्यवस्था गरेको छ । 

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था छ । 

समानुपातिक तर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खसआर्य तर्फ ४५, आदिवासी जनजातितर्फ ४३, मधेशीतर्फ २३, दलिततर्फ  २२, थारुतर्फ  १०, मुस्लिम ७, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ बाट २/२ जना रहेका छन् । खुलातर्फ १ सय ४५ जना केन्द्रिय सदस्य रहेछन् । 

महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्नेछ भने पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय समितिले चयन गर्नेछ । 

यस्तै पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button