तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । 

नामावलीमा आयोजक समिति, विभिन्न विभाग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनीत प्रतिनिधि समेटिएको छ ।

नयाँ नेतृत्व चयनका लागि आयोगका तर्फबाट मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । आज मात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको हो ।

पारित विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । 

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो ।

विधानअनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । 

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । 

केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनीका युवाको प्रतिनिधित्व गराइने भएको छ । 

सहमतिमा नै नेतृत्व चयन गर्ने तयारीमा आफूहरू रहेको माओवादीले जनाएको छ । नयाँ नेतृत्व चयनलगायत विषयमा छलफल गर्न आजै स्थायी समितिको बैठक महाधिवेशन स्थल कमलादीमा बसेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button