तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि सबै जनताको साझा : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की जनताको सेवा गर्न मन्त्री भएको भन्नुहुँदै विकास बिनाको राजनीति जनताका लागि धोका हुने बताउनुभयो । 

उहाँले निर्वाचन जित्न मात्र आफु सांसद नभएको भन्नुहुँदै जनताको भलो र विकास गर्न आफू सधैँ लागिपर्ने बताउनुभयो । 

मन्त्री कार्कीले जनप्रतिनिधि सबै जनताको साझा हुने भएकाले विकास र न्यायको पक्षमा सधैँ लागि रहने बताउनुभयो । 

सुनसरीको चक्रघट्टिस्थित सप्तकोसी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले हाल क्याम्पस रहेको सरकारी जग्गामा ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बनाइने बताउनुभयो । 

उहाँले अस्पतालको लागि डेढ बिगाहा  जग्गा आवश्यक पर्ने भएकाले जग्गा उपलब्ध हुनसाथ सम्झौता गरेर दुई वर्षभित्र अस्पतालको भवनको काम सम्पन्न गर्न आफू लागिपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले बाङ्गेदेखि हुँदाहुँदै धरान जोड्ने कच्ची सडकलाई कालोपत्रे गर्न प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई आग्रह गर्नुभयो । 

“धरान जोड्ने सडकको काम प्रदेश सरकारले गर्न सक्छ” उहाँले भन्नुभयो, “यदि प्रदेशले नगरे सङ्घीय सरकारको नयाँ बजेटबाट त्यो काम हुन्छ ।” 

कार्यक्रममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की , सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, कोशी गाउँपालिकाका प्रमुख ऐयुब अन्सारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button