हुम्लाको गणेश आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेन

काठमाडौँ । गत साउन महिनाको पहिलो साता वर्षाका कारण गएको पहिरोले क्षति पुर्याएको हुम्ला जिल्लाको गणेश आधारभूत विद्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
लगातार परेको वर्षासँगै गएको पहिरोले विद्यालय भवन नजिकैको पाखो नै झरेर हुम्लाको चंखेली गाउँपालिकामा रहेको गणेश आधारभूत विद्यालयको दुई वटा भवन क्षतविक्षत भएपछि विद्यालय बन्द भएको हो ।
विद्यालय सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग छलफल गरेर समस्याबारे जानकारी गराइए पनि कतैबाट खासै पहल नहुँदा विद्यालय सञ्चालनमा आउन नसकेको विद्यालयले जनाएको छ ।
बालबालिका देशका कर्णधार हुन् । पढ्न पाउने अधिकार सबै बालबालिकाको संविधान प्रदत्त अधिकार हो त्यसैले कोही पनि बालबालिका विद्यालय जान पाउने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन सरोकारवाला सबैको समयमै ध्यान पुग्न आवश्यक छ ।
भवन भत्किए लगत्तै विद्यालय व्यवस्थापन समिति, स्थानीय प्रशासन, राजनीतिक दल र सारोकारवालहरुको बैठक बसी विद्यालय पुनः निर्माण र सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरिएको थियो ।
बैठकमा गाउँपालिकाका तर्फबाट नयाँ आर्थिक वर्षको बजेट निकासा भएपछि भवन निर्माणका लागि केही बजेट व्यवस्था गर्ने आश्वासन दिइएको भए पनि हालसम्म कुनै सहयोग प्राप्त नहुँदा पठनपाठन सञ्चालनमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक सकराम ऐडीले बताउनुभयो ।
विद्यालय सञ्चालनका लागि स्थानीय पालिकादेखि जिल्ला प्रशासन कार्यालय हुम्लासम्म पुगेर सम्बन्धित सबैसँग आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विद्यालय सञ्चालनकै विषयलाई लिएर सङ्घीय राजधानी काठमाडौँसम्म आइपुगेका विद्यालयका प्रधानाध्यापक ऐडीले रेडियो नेपालको कार्यालयमै आएर हामीलाई विद्यालयको समस्या सुनाउनुभयो ।
विद्यालय पुनर्निर्माण र सञ्चालनका लागि सबैतिर जानकारी गराउँदा समेत सहयोग नपाएको र गाउँपालिकाले उपलब्ध गराउने भनेको बजेट पनि हालसम्म प्राप्त नभएकाले विद्यालय बन्द नै गरिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
यो एउटा व्यक्तिगत समस्या नभई कयौँ बालबालिकाको भविष्यसँग जोडिएको र राष्ट्रकै समस्या भएकाले विद्यालय पुन निर्माण नहुँदासम्म सरोकारवाला निकायहरूबाट विद्यालय सञ्चालनका लागि केही वैकल्पिक व्यवस्था हुन सके विद्यार्थीको पठनपाठन सुचारु गर्न सकिने पनि प्रधानाध्यापक ऐडीको भनाई छ ।
पहिरोले विद्यालय भवन भत्किएपछि केही समय विद्यार्थीलाई बाहिर चौरमै राखेर पढाएको र चौर पनि सानो भएकाले सम्भव नहुँदा बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयले जनाएको छ ।
विद्यालय बन्द हुँदा त्यस विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना विद्यार्थीहरू यतिबेला घरमै गाई बाख्रा हेरेर दिन बिताइरहेका छन् । आफ्ना बाल बच्चाहरू पढ्ने समयमा गाई बाख्रा हेरेर बस्नुपरेको गुनासो गर्दै सोही विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीका अभिभावक कर्णप्रसाद जैसीले विद्यालय सञ्चालनका लागि सम्बन्धित सबैले पहल गरिदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “पहिरोले भवन भत्काएपछि स्कुल जान सक्ने अवस्था नभएकाले बालबालिकाहरू यसै गाई बाख्रा हेर्ने र खेतीपाती गर्ने काममा दिन बिताइरहेका छन्, विद्यालय सञ्चालनका लागि सबैले सहयोग गरेर छिटो विद्यालय खुल्ने वातावरण बनाइदिन पनि अभिभावक जैसीको माग छ ।”
विद्यालयका प्रधानाध्यापक ऐडी र अभिभावक जैसीका कुरा सुनिसकेपछि हामीले जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई सम्पर्क गरी विद्यालयका विषयमा बुझ्दा सुरुमा त उहाँले यसबारे आफूलाई जानकारी नै नभएको बताउनुभयो ।
तर विद्यालयको समस्या समाधानका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयबाट जारी सिफारिस पत्रमा तपाइको हस्ताक्षर छ नि ! भन्ने हाम्रो जिज्ञासामा उहाँले लामो समय भएकाले बिर्सेको हुनसक्ने भन्दै त्यसबारे बुझेर विद्यालयको समस्या समाधानका लागि आफूले सक्ने पहल गरिदिने रेडियो नेपाललाई बताउनुभयो ।
“पहिरोले भवन भत्काएपछि स्कुल जान सक्ने अवस्था नभएकाले बालबालिकाहरू यसै गाई बाख्रा हेर्ने र खेतीपाती गर्ने काममा दिन बिताइरहेका छन्, विद्यालय सञ्चालनका लागि सबैले सहयोग गरेर छिटो विद्यालय खुल्ने वातावरण बनाइदिन पनि अभिभावक जैसीको माग छ ।”
उहाँले भन्नुभयो “यस्ता विपद्का घटना हजारौँ आउँछन् गर्ने काम गरेर पठाएपछि काम बन्यो होला भन्ने हुन्छ, पछि फलोअप नहुँदा समस्या जहाँको त्यहीँ रहन्छ ।” गणेश आधारभूत विद्यालयको समस्या पनि त्यस्तै भएको भन्दै यसबारे आफूले बुझेर सहजीकरण गरिदिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
बालबालिका देशका कर्णधार हुन् । पढ्न पाउने अधिकार सबै बालबालिकाको संविधान प्रदत्त अधिकार हो त्यसैले कोही पनि बालबालिका विद्यालय जान पाउने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन सरोकारवाला सबैको समयमै ध्यान पुग्न आवश्यक छ ।









प्रतिक्रिया राख्नुहोस्