तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात रोगले सुन्तला मर्न थालेपछि कृषक चिन्तित

फाइल तस्बिर

पर्वत । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिने पर्वतको देउपुरमा अज्ञात रोगबाट सुन्तलाका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

विगत दुई वर्षयता देउपुरका सुन्तलामा रोगको प्रकोप देखिन थालेको हो । 

देउपुरको कँडेन, डडुवावारी, टापु लगायतका स्थानमा व्यावसायिक सुन्तला खेती गरेका किसान बोट मर्ने र दाना कुहिने समस्याले पीडित छन् । 

दुई वर्ष अगाडीसम्म २ करोडको सुन्तला बेच्ने किसान अहिले ५० लाखको पनि सुन्तला विक्री गर्न नसक्ने अवस्थामा पुगेका अगुवा किसान दाताराम चापागाईँले बताउनुभयो । उहाँले सुन्तला खेतीमा देखिएको रोग पत्ता लगाउन नसकिएको बताउनुभयो ।

दुई वर्ष अगाडी निलो तुथोलगायत विषादीको प्रयोग गरेपछि सुन्तलामा रोग देखा परेको चापागाईँले दाबी गर्नुभयो । 

गाउँभरि नै अहिले सुन्तलामा रोग देखिएको छ । सुरुमा पात पहेँलो भएर पछि बिस्तारै बोट मर्न थालेको किसानको भनाइ छ । 
स्थानीय सत्यदेवी गिरीले धमाधम बिरुवा मर्न थालेपछि सुन्तला खेतीबाट हात झिक्नुपर्ने अवस्था आएको सुनाउनुभयो । 

यहाँका अधिकांश घरले सुन्तलालाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका छन् । 

किसानले रोगको पहिचान नहुँदा गाउँभरि सुन्तला लोप हुने खतरामा रहेको उहाँले बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर सुन्तलामा देखिएको हुनसक्ने अनुमान गर्नुभयो ।


देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँका हरेक घरले वर्षमा रु.५ देखि १० लाख रुपैयाँ सुन्तला बेचेरै आम्दानी गर्दै आएका छन् । 

रोगका कारण किसानको उत्साह हराउँदै गएको स्थानीय किसान भुमीराज शर्माले बताउनुभयो । उहाँले रोग निम्तिनुमा विषादीको प्रयोग नै प्रमुख कारण रहेको सुनाउनुभयो । 

सुन्तला खेतीमा विषादीको प्रयोग हुनु र नार्कले अनुसन्धान नगरेको मूल बिरुवा किसानले आफू खुसी ल्याएर रोप्दा पनि रोग आएको हुनसक्ने शर्माले बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्र पर्वतले सुन्तला मर्न थालेको बारे अध्ययन भइरहेको जनाएको छ । 

के कारणले सुन्तलाका बोट मर्न थालेका हुन् भन्ने बारे प्राविधिकहरूले अध्ययन गर्न थालेको केन्द्र प्रमुख मनिता थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button