कांग्रेस सह महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि सह महामन्त्री पदको मतगणना सुरु भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न ३ वटा क्लस्टरका सह महामन्त्री उम्मेदवारको मत गणना सुरु भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
अहिले दलित, महिला र आदिवासी जनजाति क्लस्टरबाट मत गणना सुरु गरिएको छ भने बाँकी ५ क्लस्टरको मत गणना भोलि मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।
यसअघि आजै सम्पन्न मतगणना नेपाली काँग्रेसको आगामी कार्यकालका लागि गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार थापा तीन हजार २३ मत प्राप्त गर्नुभएको छ भने शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीका अन्य प्रत्याशीहरूमा प्रकाश शरण महतले १ हजार ५ सय ५६, प्रदीप पौडेलले १ हजार ३ सय ९३, मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गर्नुभयो तथा राजाराम कार्कीले १ सय ६ मत मात्र प्राप्त गर्नुभयो ।
महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिनुहुँदै नेता शर्माले पार्टीको रूपान्तरणका लागि निष्ठा र जिम्मेवारीका साथ काम गर्ने बताउनुभयो ।
यस्तै अर्का महामन्त्री गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्ने बताउनुभयो ।
काँग्रेसको १४ औँ अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनुभएको छ ।
यस्तै, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसको विधान अनुसार एक जना सभापति, २ उपसभापति, २ महामन्त्री तथा ८ सह महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ भने सभापतिले ३३ जना सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
सह महामन्त्री पदको मतगणना सकिएपछि क्रमशः केन्द्रीय सदस्यहरूको मतगणना सुरु केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्