तपाईँ सुन्दै हुनुहुन्छः

कृषि तथा पशुपंक्षी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

विराटनगर । कृषि तथा पशुपंक्षी बिमा कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ । 

बिमा कार्यक्रमबारे कतिपय किसानहरूलाई जानकारी नभएकाले त्यसबारे सहजीकरण आवश्यक रहेको उहाँहरूको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले विराटनगरमा आज आयोजना गरेको निर्जीवन कृषि तथा पशुपंक्षी बिमा कम्पनीसँग गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सो कुरामा जोड दिनुभएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले कृषि पेशालाई व्यवसायीकरण गर्न पनि बिमा आवश्यक रहेको भन्नुहुँदै बिमाको महत्त्वबारे किसानलाई जानकारी गराउनुपर्ने बताउनुभयो । 

परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले कृषि तथा पशुपंक्षी बिमामा सरकारले बढाएर ८० प्रतिशत प्रिमियम दिएकाले यस बारेमा किसानलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । 

उत्पादन बढाएर किसानको जीवन स्तर उकास्नु परियोजनाको दायित्व भएकाले सरल र सहज रूपले बिमा रकम उपलब्ध गराउन र सबै कृषकलाई बिमाको दायरामा ल्याउन कृषि प्राविधिक तथा बिमा कम्पनीहरूले घरदैलो अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । 

कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिव सुन्दर घिमिरेले गत आर्थिक वर्षमा कृषि क्षेत्रमा ४२ अर्ब बराबरको बिमा भएको जानकारी गराउँदै प्रत्येक वर्ष  बिमाप्रति किसानहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कृषि अधिकृत हिकमत श्रेष्ठ, परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदी तथा बिमा कम्पनी आबद्ध प्रवीणकुमार कोइराला, खड्ग श्रेष्ठ तथा गणेश श्रेष्ठ लगायतले बिमाको महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सहभागी किसान कोपेन्द्र सिंह, अनरजित सिंह तथा सोहनलाल राजवंशीले पशुपंक्षी बिमा गर्न सहज भए पनि कृषि बिमा गर्न भने सहज नभएको गुनासो गर्नुभयो । 

कार्यक्रममा विभिन्न जिल्लाका परियोजना कार्यान्वयन इकाई प्रमुख, कृषि प्राविधिक तथा बिमा कम्पनी साथै किसान तथा पशु चिकित्सकहरूको सहभागिता थियो । 

प्रदेश नं १ मा कृषि तथा पशुपंक्षि बिमाका लागी १९ वटा बिमा कम्पनीहरूले काम गर्दै आएका छन् । 

२०७० सालदेखि नेपालमा कृषि तथा पशुपंक्षी बिमा कार्यक्रम लागु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button