अहिलेको परिस्थितिमा मैले सभापतिमा जित्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ ।
महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित भएका पार्टीमा सबैका माग पूरा गर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभई सबैको पार्टी बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।
“हिजोको सरकार हुँदा कस्तो हालत थियो, तपाँइहरुलाई थाहा नै छ र अहिले कति हलुका भएको छ, त्यसैले अहिलेको बेला यो काँग्रेसले जित्न जरुरी छ, काँग्रेसले जितेको खण्डमा मात्रै देशलाई अघि बढाउन सकिन्छ, त्यसका लागि यो महाधिवेशन महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सभापतिमा मैले पनि उम्मेदवारी दिएको छु, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवश्य नै म सम्पूर्ण मागहरू पूरा गर्नेछु ।”
उहाँले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रुपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नै पर्ने आवश्यकता छ ।”
राष्ट्रमा प्रजातन्त्र भए मात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नै पर्ने दबाब रहेको दोहोर्याउनुभयो ।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताउनुभयो । “अहिलेको परिस्थितिमा मैले कसैलाई मेरो खिलाफमा मेरो विरोध गरेको होइन, तर मेरो यो अन्तिम बेला हो, आफूले सभापतिमा जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरूको सहभागितामा सरकार बनाउन सक्नेछु”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातिको हक अधिकार सुनिश्चित गर्न, महिलालाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।
संविधानले देशमा भएका सबै जनजातिको भावनालाई समेटेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले पनि आदिवासी, जनजातिलगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाति, मुस्लिम, महिला सबैलाई आरक्षणको व्यवस्था गरेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्