तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई राहत रकम उपलब्ध गराउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई ढिलै भए पनि राहत रकम उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्याङ्कन गरेर २५ हजारदेखि ४ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउन लागेको हो । 

बैठकले आगालागिबाट विस्थापित भएका ८५ घरपरिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । 
आगलागीबाट पीडित घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिएको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताउनुभयो । 

उहाँले आगलागीबाट १० लाखसम्म क्षति भएकालाई १ लाख, ११ देखि ५० लाखसम्म क्षति भएकालाई डेढ लाख, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई २ लाख, दुई लाखदेखि एक डेढ करोडसम्मका लागि अढाई लाख, एक करोडदेखि करोडसम्म क्षति भएकालाई साढे ३ लाख, तीन करोड भन्दामाथि क्षति भएकालाई ४ लाख राहत रकम उपलब्ध गराइने निर्णय भएको जानकारी दिनुभयो । 

“आगलागीबाट क्षति भएका व्यवसायीहरूले भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र १ करोडभन्दा माथि क्षति भएकाले १ लाख रुपैयाँ राहत रकम पाउने छन्,’ उहाँले भन्नुभयो,  “तर घर भाडामा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाहरूले २० हजार, २० लाखदेखि ५० लाखसम्म क्षति भएकाहरूले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रुपैयाँ पाउने निर्णय भएको छ ।” 

गत कार्तिक २९ गते मुगुको छायानाथ रारा नगरपालिका–१, गमगढी बजारमा आगलागी हुँदा २१ घरधुरीमा क्षति पुगेको थियो । 

मन्त्रालयका अनुसार आगलागीबाट घर भाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घर क्षति २० र आंशिक घर क्षति भएका ४ जना विस्थापित भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button