तपाईँ सुन्दै हुनुहुन्छः

ढल्केवरमा निर्माण हुने ट्रमा अस्पतालको निर्माण प्रक्रिया सुरु

जनकपुरधाम । नेपाल सरकारले धनुषाको ढल्केवरमा निर्माण गर्न लागेको ट्रमा अस्पतालको निर्माणको काम अघि बढेको छ । 

नेपाल सरकारले राजमार्गमा हुने सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनेहरूको उपचारका लागि निर्माण गर्ने उद्देश्यले ट्रमा अस्पतालको निर्माण गर्न लागेका हो । 

धनुषाका ढल्केवरको साथै दाङको लम्की, नवलपरासीको बर्दघाटमा ट्रमा अस्पतालको निर्माण गर्ने कार्यक्रम रहेको छ । 

ढल्केवरमा निर्माण गरिने ट्रमा अस्पतालको निर्माणका लागि मिथिला नगरपालिकाले आज ढल्केवरमा सार्वजनिक सुनुवाइ गरेको छ । 

राजमार्गभन्दा ५ सय मिटरको दूरीमा निर्माण गर्नुपर्ने भएकाले निर्माण गर्ने ठाउँको यकिन गर्नका लागि सर्वदलीय एवं सर्वपक्षीय बैठक सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा निर्माण कार्य अगाडी बढाउने गरी नेपाल सरकारको रातो किताबमा कार्यक्रम आएको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिनुभएको छ । 

५० शय्याको ट्रमामा अस्पतालको निर्माणका लागि सरकारले पहिलो चरणमा ६६ करोड बजेट दिने पनि उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले निःशुल्क रुपमा नै जग्गा उपलब्ध गराउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र नगरपालिकामा पठाएकाले नै यस विषयमा छलफल सम्पन्न भएको र जग्गा छनौटमा दल तथा नागरिक समाजका अगुवाहरूले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

This image has an empty alt attribute; its file name is 1639054054625-1024x768.jpg

उहाँले ट्रमा अस्पतालका लागि कम्तीमा पनि ३ बिगाहा जग्गा आवश्यक हुने र निर्माणका लागि प्राविधिक रुपमा उपयुक्त जग्गा प्रदान गर्नका लागि नगरपालिका तयार भएको र यसमा सबै दलको साझा सहमति आवश्यक भएको बताउनुभयो । 

यसअघि मन्त्रालयका प्राविधिकले दुई वटा जग्गा हेरेको भए पनि उपयुक्त नभएको बताउँदै पुनः पत्र पठाएको मिथिला नगरपालिकाले जनाएको छ । 

सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांशले सबैको पायक पर्ने तथा सेन्टर भागमा रहेको ढल्केवरमा नै ट्रमा अस्पतालको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिएकाले त्यस विषयमा नगरपालिका गम्भीर भएको नगरप्रमुख महतोले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका राजकुमार महतो, नेकपा एमालेका टंक बराल, नेकपा माओवादी केन्द्रका रामकुमार महतो, नेकपा एकीकृत समाजवादीका रामप्रसाद महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, जनता समाजवादी पार्टी नेपालका चन्देश्वर महतो र साना किसान सहकारी संस्थाका अध्यक्ष रामकुमार महतो सहितका व्यक्तिहरूले जसरी भए पनि ट्रमा अस्पतालको निर्माण प्रक्रिया अगाडी बढाउनुपर्ने सुझाव दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button