भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह
काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्र रूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उहाँका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उहाँले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताउनुभयो ।
उहाँले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गर्नुभयो । उहाँले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गर्नुभएको छ ।
ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उहाँले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्न सक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्