तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

काठमाडौं । राजनीतिक दलमा आबद्ध क्रियाशील महिला नेत्रीले नेपालको संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले विभिन्न पार्टीको आसन्न महाधिवेशनको सन्र्दभमा आयोजना गरेको ‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तक्र्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको हुनाले त्यहीअनुसार चल्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले एकतिहाइ सुनिश्चित गर्ने विश्साससमेत व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राधा ज्ञवालीले पार्टीको १०औँ महाधिवेशनमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने गरी विधान महाधिवेशनले नै तय गरेको बताउनुभयो । उहाँले पदाधिकारीमा महिला सुनिश्चित नभए पनि उपाध्यक्ष र सचिवमा महिलाले उम्मेदवारी दिने तयारी गरेको जानकारी दिनुभयो ।

अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्वमन्त्री थममाया थापाले एमाले महाधिवेशनमा विधानले २२५ केन्द्रीय समितिमध्ये ७६ जना महिला सुनिश्चित गरेको जानकारी दिँदै आगामी दिनमा समतामूलक समाज निर्माणका लागि ५० प्रतिशत महिला सुनिश्चित गर्नुपर्नेमा सबै महिला एक भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अञ्जना विसंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती केसी र राष्ट्रिय जनमोर्चाका लक्ष्मी केसीलगायतले ३३ प्रतिशत महिला प्रत्येक राजनीतिक दलले सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबैले दबाब दिनुपर्ने धारणा राख्नुभएको थियो ।

डब्लुडब्लुजका महासचिव चन्दा विष्टले पार्टीको आसन्न महाधिवेशनमा संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिलाका साथसाथै अर्थपूर्ण सहभागितामा सहयोग पुगोस् भन्ने उद्देश्यले अन्तक्र्रियाको आयोजना गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button