तपाईँ सुन्दै हुनुहुन्छः

नगरकोट सडक दुई महिनाभित्र सम्पन्न गर्न मन्त्री यादवको निर्देशन


भक्तपुर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

पटक पटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि नगरकोट पुग्नु भएकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माण तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको हो ।

पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको भन्दै मन्त्री यादवले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिनुभयो । पन्ध्र किमी सडक सात वर्षसम्म पनि पुरा नहुनु अनौठो भएको बताउँदै पटक पटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने चेतावनी दिनुभयो ।

देशको ढुकुटीबाट बन्न लागेका सडकका कारण जनताले दुख पाउनु नहुनेमा जोड दिँदै मन्त्री यादवले देशभरका विभिन्न सडक केही वर्षयता कोभिड र भूकम्पका कारण ढिला भएको हुनसक्ने भए पनि आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्ध स्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्न सक्ने बताउँदै सडकमा निर्माणको काम छिटो अघि बढाउन निर्देश दिनुभयो ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले एक दुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्नेमा जोड दिनुभयो । योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले आफू नियमित रुपमा स्थलगत निरीक्षण गरेर गल्ती सच्याउन भनिरहेको बताउनुभयो ।

निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्य योजना बनाएर काम गर्न लागेको मन्त्रीसहितको सरकारी टोलीलाई जानकारी दिनुभयो ।सडक नबनेर हैरानी खेपिरहेका कमल विनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले मन्त्रीको ध्यानाकर्षणका लागि गाडी रोकेको र गुनासो राखेको बताउनुभयो ।

लामिछानेले आठ वर्षदेखि हिलो र धूलो खाइरहेको बताउँदै समयमै सडक नबन्दा सडक दुर्घटना समेत भएको देखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “पहिलाजस्तै अहिले पनि हामीलाई आश्वासन दिइएको छ, पूरा भएको छैन, अहिले त्यस्तो नहोस्, ‘ठेकेदारले सडक निर्माणको क्रममा लापरबाही समेत गरेको छ,खाली जनताको आँखामा छारो हाल्ने काम मात्र नहोस्।”

गत २०७१ साल जेठबाट निर्माणको थालनी भए पनि निर्माण कम्पनीको लापरबाही र गैर जिम्मेवारीका कारण पटक पटक गरी ६ पटकसम्म म्याद थप गर्दा पनि आयोजन पुरा भएको छैन ।शैलुङ्ग कन्ट्रक्सन र ए आई पी एल जे भी ले निर्माणको जिम्मा लिएको सडक १६ किलोमिटरको छ । स्थानीय बासिन्दाले निर्माण कम्पनी परिवर्तन गरेर छिटो योजना सम्पन्न गर्न नेपाल सरकार लगायत सरोकारवालालाई दबाब सृजना गर्न गराउन सङ्घर्ष समिति निर्माण गरी ध्यानाकर्षण गराएका र आन्दोलन गर्दै आएका छन् ।

काम ढिला गरिँदा लागत रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ ।शैलुङ कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने बेलामा लकडाउन भएको र पछि खुकुलो हुँदा वर्षा सुरु भएकाले काममा ढिलाइ भएको र अब बाँकी अवरोध पन्छाएर शीघ्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button