तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

रोल्पा ।  रोल्पामा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने मृत्यु भएका सबैको सनाखत भएको छ । 

रोल्पाको घर्तीगाउँ बजार नजिकै आज बिहान करिब साढे १० बजेको रा१ज ३८२ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए ।

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ हान्डिङ गाउँबाट यात्रु लिएर घर्ती गाउँ बजार जाँदै गर्दा घर्ती गाउँ बजार नजिकै दुर्घटना भई जीप सडकबाट करिब ३०० मिटर तल खसेको  थियो ।  

रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार गाडी चालक माडी गाउँपालिका वडा नम्बर ६ हान्डिङ निवासी ५१ वर्षीय लुद्र घर्तीसहित सोही ठाउँका ४७ वर्षीय चौसरा कामी र ५५ वर्षीय टेकबहादुर पुनको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका १८ वर्षीय लीला पुनको रोल्पा अस्पतालमा रेउघामा उपचारका क्रममा मृत्यु भएको हो । 

गम्भीर घाइते भएकी २१ वर्षीय बिना घर्तीको थप उपचारको लागि रेउघा अस्पतालबाट नेपालगन्ज पठाइएको छ भने ६१ वर्षकी पन्चना बि.कको भने सामान्य चोट लागेकाले घर्तीगाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button