अछाममा सिडियो र मेयरको विवरण सङ्कलन गरी जनगणना शुभारम्भ

अछाम । देशभर शुरु भएको राष्ट्रिय जनगणनाको कार्य अछाम जिल्लामा पनि शुरु गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को अछाम जिल्लामा एक कार्यक्रमका वीच शुभारम्भ गरिएको हो । अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल र मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको विवरण सङ्कलन गरी अभियानको शुभारम्भ गरिएको जिल्ला जनगणना अधिकारी प्रकाश विष्टले बताउनुभयो ।
बिहीबार बिहान साढे ७ बजे मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराको घरबाट व्यक्तिगत विवरण र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लबाट संस्थागत विवरण लिएर गणना सुरु गरिएको जिल्ला जनगणना अधिकारी विष्टले बताउनुभयो ।
मूल गणनाका लागी जिल्लाका १० वटै स्थानीय तहका लागी ३ सय १ जना गणक खटाइएको बिस्टले बताउनुभयो ।
मूल गणनाका लागि प्रति परिवारलाई ५५ वटा प्रश्न सोधिने बताइएको छ । अछाममा जनगणनालाई सुव्यवस्थित पार्नका लागि १० वटै स्थानीय तहलाई मध्यनजर गरेर ५ स्थानमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा रहेका छन् ।
मेरो सहभागिता मेरो गणना भन्ने नाराका साथ आजबाट राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सुरु हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९ बजे आफ्नो परिवारको विवरण टिपोट गराएर जनगणनाको मूल गणना कार्य सुरु गर्नुभएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यो पटक नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने सरकारले जनाएको छ । यस अर्थमा यो जनगणनालाई महत्त्वका साथ हेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्