पहिरोले बन्द जयपृथ्वी राजमार्ग खुलाउने काम शुरु

बझाङ । बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको छ । २४ दिनदेखी अवरुद्ध राजमार्ग खुलाउन मङ्गलवारदेखि काम शुरु भएको हो ।
असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म आएको अविरल वर्षा र सेती नदिमा आएको बाढीले सडक बगाउँदा चैनपुर जोड्ने राजमार्ग अवरुद्ध भएको थियो ।

दुई ठाउँमा अवरुद्ध भएको सडकको केदारस्युँ गाउँपालिका अन्तर्गत नारुगौडाको बाटो नेपाली सेनाले खुलाएको छ भने जाले बगरमा डाइभर्सनको काम शुरु भएको छ । तमैल नजिकै रहेको जाले बगरको सडक सेती नदीले भत्काउँदा ठूलो क्षति भएको थियो ।
झण्डै ४ सय मिटर सडक भत्किएपछि तमैलदेखि चैनपुरमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । अवरुद्ध राजमार्ग सञ्चालन गर्न सेती नदी नै डाइभर्सन गर्नुपर्ने प्राविधिकहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्