कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्रहरूलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
मङ्गलवार नेपाल बैंकर्स सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पछिल्लो समय बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैङ्कहरू संयम अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।
आफूले पहिले पनि आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको भन्दै उहाँले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको बताउनुभयो ।
गभर्नर अधिकारीले सोचे अनुसारको रेमिटेन्स नआएको र सरकारी खर्च पनि नभएको कारण मुलुकको वित्तीय क्षेत्रमा तरलताको केही समस्या देखिएकोले बैङ्कहरूले व्यवसाय विस्तार गर्दा समग्र वित्तीय प्रणालीमा पर्न सक्ने चुनौतीलाई समेत ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बैङ्कर्स संघका नव निर्वाचित अध्यक्ष तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सङ्घले आगामी दिनमा कोषको लागत, तरलताको पर्याप्तता तथा बाह्य र आन्तरिक ऋणमा सुधार ल्याउन क्रियाशील हुने बताउनुभयो ।
उहाँले बैङ्कहरूमा कर्पोरेट कल्चरको आवश्यकता रहेकोमा पनि जोड दिनुभयो । कार्यक्रममा वाणिज्य बैङ्कहरूका पूर्व अध्यक्षहरू मध्येबाट सिटिजन इन्टरनेशनल बैकका पूर्व अध्यक्ष शङ्कर शर्मालाई सम्मान गरिएको थियो ।
सङ्घको मङ्गलवार सम्पन्न वार्षिक साधारण सभाले कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्