तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा। रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडक खण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ ।

सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो । सडकखण्डको विभिन्न स्थानमा रहेका ठुलठुला कडा चट्टानले सवारी साधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने बर्सातमा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयवासीले समस्या भोग्दै आएको स्थानीयवासी भानु जिसीले बताउनुभयो । सडक बन्द हुँदा लामो दूरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता रहेको जिसीको भनाइ रहेको छ ।

नेपाली सेनाको बटुकदल गणबाट गएका सेनाले कार्यक्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी उक्त सडक खण्डमा रहेको अवरोध हटाउने काम भइरहेको बटुकदल गण रोल्पाका गणपति मनि थापाले जानकारी दिनुभयो । पहिरोसहित आएको ठूलो ढुङ्गाले सडकखण्डको करिब २० मिटर भाग अवरुद्ध भएको छ । पूर्णरूपमा सडक सञ्चालन हुन थप केही समय लाग्ने गणपति थापाले बताउनुभयो ।

जोखिमपूर्ण अवस्थामा रहेको सो सडक खण्डमा सवारी आवतजावत गर्दा सधैँ संशयपूर्ण मानसिकताका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ रहेको थियो । सडक चौडा बनेसँगै पूर्वी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् ।

करिब एक वर्षदेखि अवरुद्ध सडकखण्ड सञ्चालनका लागि नेपाली सेना परिचालित भएको हो । स्थानीय वासीसँगको सहकार्यमा नेपाली सेनाले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ । उत्तरी रोल्पाको वीरबलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि वामरुकमा सुविधा सम्पन्न शौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुई खोलीमा कडा चट्टान फोडी सडक चौडा बनाउनुका साथै विगत २५ वर्षदेखि निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्टान फोर्ने कामसमेत गरेको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button