तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगर नगर विकास जग्गा दुरुपयोगमा अख्तियारले लियो २ सय जनाको बयान

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा दुई सयभन्दा बढीले बयान दिएका छन् ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारको गुरुयोजना समेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले बयान लिने काम सकेको हो। टोलीले बयान लिने काम सकेर स्थलगत अनुसन्धान गर्न थालेको छ । 

६ सय ३८ बिघा जग्गा रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ । जग्गा अनियमितताको विषय छानबिनका लागि भने अख्तियारको टोली भदौ तेस्रो साता कञ्चनपुर पुगेको थियो । 

अख्तियार कार्यालय महेन्द्रनगरका प्रवक्ता हरिशचन्द्र जोशीका अनुसार जमिन लिजमा लिने र खरिद गर्नेदेखि समितिका तत्कालीन पदाधिकारी र कर्मचारीहरूको बयान लिएको हो । उहाँले दुई सय जतिको बयान लिने काम सकिएको र  अहिले स्थलगत अनुसन्धान भइरहेको बताउनुभयो ।

लिजमा जमिन लिने १४४ र खरिद गर्ने ४६ जना गरी तत्कालीन पदाधिकारी र कर्मचारी सबैको बयान लिइएको हो । स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले ६६ बिघा मात्रै बाँकी छ । 

अनुसन्धान टोलीले समितिका कागजात र मालपोत कार्यालयबाट समेत आवश्यक कागजात मगाएर अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button