तपाईँ सुन्दै हुनुहुन्छः

कालो पट्टी बाँधेर शिक्षकको बिरोध

तनहुँ । सरकारले निजामती कर्मचारी सरह समान व्यवहार नगरेको भन्दै शिक्षकहरूले बिरोध गरेका छन् । बिहीबार देशभरका शिक्षकले टाउको र हातमा कालो पट्टी बाँधेर साङ्केतिक बिरोध गरेका हुन् ।

सरकारले निजामती कर्मचारीलाई तोकेको भन्दा धेरै सुविधा दिएको तर शिक्षकलाई असमान व्यवहार गरेकाले साङ्केतिक बिरोध गरेको स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेशबाबु भट्टराईले बताउनुभयो । 

आफूहरूको माग पुरा नभए दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने भट्टराईले चेतावनी दिनुभयो । सडक, अदालत, सदन चारैतिरबाट दबाब दिएर सरकारलाई घेराबन्दीमा पार्ने अभियानमा रहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सरकारले असमान व्यवहार गरेको भन्दै स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेशबाबु भट्टराई लगायत ५० जनाले १६ असारमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमा शिक्षकलाई १० दिनको सुविधासहितको भ्रमण काज, सन्ततिलाई छात्रवृत्ति, १० लाख रुपैयाँको दुर्घटना बिमा, एक लाख रुपैयाँको स्वास्थ्य सुरक्षा बिमा, विद्यालयका शिक्षक–कर्मचारीका लागि छुट्टै अस्पताल लगायत माग गरिएको छ । 

सर्वोच्चले १७ असोजमा पेशी तोकेको छ । यस अगाडी पनि दुई पटक पेशी तोकिएकोमा सरकारी पक्ष उपस्थित नभएको भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button