तपाईँ सुन्दै हुनुहुन्छः

‘उद्योग, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता साथ अघि बढाइन्छ’

बीरगंज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले उद्योग, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ ठोस योजना सहित अगाडी बढाउन लागेको बताउनुभएको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज प्रदेश उद्योग व्यवस्थापन नियमावली २०७८ को सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले १० दिनभित्रै उद्योगी, व्यवसायी र प्रदेश सरकारबिच संयन्त्र निर्माण गरी प्रदेश उद्योग व्यवस्थापन नियमावली २०७८ आगामी १५, २० दिनभित्रै लागु गरिने दाबी गर्नुभयो । 

उहाँले बीरगंज आर्थिक र औद्योगिक केन्द्र भएको हुँदा नियमावली तयारीको सिलसिलामा वीरगन्जलाई केन्द्रबिन्दु बनाइएको बताउँदै प्रदेश २ मा औद्योगिक वातावरण बनाउन सरकार क्रियाशील रहेको कुरामा जोड दिनुभयो । 

कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायीहरूले सङ्घ र प्रदेश सरकार बिचको ऐन कानुन बाझिएको कारण समस्या भएको बताउँदै कागजी प्रक्रिया मिलाउन झन्झटिलो हुँदा व्यवसायीहरू समस्यामा परेको बताउनुभयो । 

यसैगरी उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रमा सुरक्षाको चुनौती समेत थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग मन्त्री राम नरेश राय, ऊर्जा मन्त्री ओमप्रकाश शर्मा, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा लगायतका व्यक्तिहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button