तपाईँ सुन्दै हुनुहुन्छः

अध्यादेश बजेटको अवधि समाप्त

काठमाडौँ । सरकारले गत जेठ १५ गते पेश गरेको चालु आर्थिक वर्षको २०७८।७९ को अध्यादेश बजेटको अवधि आज भदौ ३० गते सकिएको छ ।

अध्यादेशबाट जारी भएको बजेट ६० दिनभित्र संसदबाट पास हुनुपर्ने अन्यथा बजेट स्वतः निष्क्रिय हुने व्यवस्था अनुरूप आजसम्ममा संसदबाट बजेट पारित हुन नसक्दा मुलुकमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको छ । 

संसदबाट बजेट पारित नभएकोले भोलिदेखि सरकारले गर्ने खर्च गर्न नमिल्ने अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री जर्नादन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी पेश गरेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव मङ्गलवार भदौ २९ गतेको संसद् बैठकले स्वीकृत गरेपछि विनियोजन विधेयक प्रक्रियामा रहेकोले छिट्टै पारित हुने अपेक्षा अर्थ मन्त्रालयको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बजेट होलिडेमा राजस्व सङ्कलनमा कुनै समस्या नहुने र खर्च भने विनियोजन विधेयक संसदबाट पारित नहुँदा सम्म गर्न नमिल्ने बताउनुभयो ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई प्रतिस्थापन गर्ने गरी अर्थ मन्त्री जर्नादन शर्माले केही परिमार्जन सहित भदौ २५ गते प्रतिस्थापन विधेयक मार्फत १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट संसद् समक्ष पेश गर्नु भएको थियो । बजेट होलिडेको अवधिमा सरकारको सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने संवैधानिक निकायहरूलाई भने यसले कुनै असर नगर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button