तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित

काठमाडौँ। नेपाली काँग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

यसअघि काँग्रेसले यही भदौ १० गते ३८ जिल्ला, ११ गते १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । अब बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली भदौ १८ गते निर्धारित वडा अधिवेशन अघि नै प्रकाशित भइसक्ने पार्टी कार्यालयले जनाएको छ ।

नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ । यसै गरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button