तपाईँ सुन्दै हुनुहुन्छः

हलुवागढ वनमा अख्तियारको छापा

भद्रपुर, झापा । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले बुधवार छापा मारेको छ ।

सो वनमा व्यापक आर्थिक अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट गएको टोलीले समूहको कार्यालयमा छापा मारी कागजात लिएर गएको हो । 

क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा गएको चार जनाको टोलीले कार्यालयका विभिन्न कागजपत्र लिएर गएको वन उपभोक्ता समूहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले बताउनु भयो । अख्तियारको टोलीले २०७२ सालको वार्षिक साधारण सभाको माइन्यूट, २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन, बैठकको निर्णय पुस्तिका, घाटगद्दी रजिष्टर, फाइलिङ रजिस्टर लगायतका कागजपत्र लिएर गएको राईले बताउनुभयो ।

तर, वनका अध्यक्ष चक्र तामाङले अख्तियारले कार्यालयमा छापा मारेको नभई अख्तियार टोलीले जाँचबुझका लागि आएको भनेर निवेदन दिएपछि कागजातको प्रतिलिपि मात्र उपलब्ध गराएको दाबी गर्नुभएको छ । अख्तियारले लेटर प्याडमा हलुवागढलाई सम्बोधन गरेर निवेदन दिएपछि तोक लगाएर दर्ता गरी कागजातको प्रतिलिपि दिइएको अध्यक्ष तामाङको भनाइ छ ।

वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले पहिलादेखि नै छानबिन थालेको र बुधवार गएर कागजपत्र नियन्त्रणमा लिइएको आयोगको क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो ।

हलुवागढ सामुदायिक बनमा २४ लाखभन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरूले दाबी गर्दै आएका छन् । वनमा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेस निकट उपभोक्ताहरूले तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button