जिता खोलाको तटबन्ध भत्किँदा डेढ सय बढी घर डुबानमा

सप्तरी । जिता खोलाको तटबन्ध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डेढ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित मङ्गलवार बिहान खोलाको पश्चिमी तटबन्ध भत्किएको हो ।
तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिनुभयो । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका १ सय ५० घरमा पसेको झाले बताउनुभयो । उहाँका अनुसार ६ वटा घर समेत भत्किएका छन् ।
बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा त्रसित छन् । उनीहरूलाई पशु चौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको छ । बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेका छन् ।
अध्यक्ष सिंहले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिने र क्षतिको विवरण चाँडै सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्