तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत पाटन (हेटौँडा) इजलासबाट ८२६ वटा मुद्दा फर्छ्यौट

मकवानपुर । उच्च अदालत पाटन (हेटौँडा) इजलासले आर्थिक बर्ष २०७७–७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ । 


सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलासले पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्ष ९३९ मुद्दाको फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ८२६ अर्थात् लक्ष्यको ८७.९६  प्रतिशत मुद्दा फर्छ्यौट गर्न सकेको जनाएको छ । 


अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार अदालतले गत वर्ष ६ सय १९ मुद्दाको फर्छ्यौट गर्न सकेन । आर्थिक वर्ष ७७–७८ मा अघिल्लो वर्षबाट ४०८ थान मुद्दाको जिम्मेवारी सरेर आएको थियो । 


यस्तै गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्दा दर्ता भएको थियो । गत वर्षमा १४ सय ४५ मुद्दाको लगत भएकोमा ८ सय २६ मात्र फर्छ्यौट भएको हो । यस्तै उच्च अदालत पाटन हेटौँडा इजलासले चालू वर्षमा ११ सय ४९ नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ । 


यो वर्षको लागि गत वर्षबाट ६ सय १९ थान मुद्दाको जिम्मेवारी सरेर आएको छ । चालू वर्षमा ११ सय ९४ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो । 


पत्रकार सम्मेलनमा उच्च अदालत पाटन, हेटौँडाका मुख्य न्यायाधीश मोहम्मद साविर हुसेन, उप–रजिस्ट्रार कैलाश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button