तपाईँ सुन्दै हुनुहुन्छः

साझा विकास रणनीति तय गर्न जरुरीः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले १० बर्से साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिनुभएको छ । 


आइतबार काठमाडौँमा आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सबै पक्षहरू बिच व्यापक बहस गरेर दश वर्षे साझा विकास रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


उहाँले देश विकास सबैको साझा एजेन्डा भएकोले संविधानमा उल्लेख गरिए बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकास रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 


अर्थ मन्त्री शर्माले नेपालको सन्दर्भमा प्रगतिशील पुँजीवादको अवधारणाअनुसार विकास रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


बलियो अर्थतन्त्र निर्माणको लागि संरचनागत सबलीकरण अहिलेको आवश्यकता रहेको भन्दै अर्थमन्त्री शर्माले गहन अध्ययन अनुसन्धानको लागि अर्थ मन्त्रालयमा उपयुक्त संयन्त्र निर्माण गरिने जानकारी समेत दिनुभयो । 


कोभिड १९ बाट थलिएको अर्थतन्त्र उकास्नको लागि अति प्रभावितहरूलाई राहत दिने, उत्पादन क्षेत्रमा लगानी बढाउने, पारदर्शिता र सुशासन कायम गर्ने लगायतका गतिविधिमा सरकार अघि बढ्ने प्रतिबद्धता समेत अर्थमन्त्री शर्माले जनाउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले वार्षिक ३० अर्बभन्दा बढीको चामल आयात गर्ने अवस्थाको अन्त्य नगरेसम्म देश विकास कठिन रहेको बताउनुभयो । 


एमाले सांसद विमला राई पौडेलले कोभिड १९ बाट अनौपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति र त्यसमा पनि महिलाहरू बढी प्रभावित भएकोले उनीहरूको लागि राहतमुखी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो । 


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्रले उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न नसकेको कुरा स्वीकार गर्दै त्यसको लागि सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिनु भयो ।


प्रदेश नं. दुईका योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले विकास आयोजनाहरूमा बजेट विनियोजन गर्ने तर प्रभावकारी अनुगमन र मूल्याङ्कन नगर्ने परिपाटीले देश विकासमा नकारात्मक असर गरेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button