हेटौँडा अस्पताललाई १ करोड ३७ लाख बराबरको अक्सिजन प्लान्ट हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई हेटौँडाका व्यवसायीहरूले अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् ।
कोरोना संक्रमण वृद्धि भएसँगै अस्पतालमा अक्सिजन अभाव कम गर्ने उद्देश्यका साथ उद्योग सङ्घ मकवानपुरले विभिन्न उद्योगी व्यावसायीद्वारा रकम सङ्कलन गरेर खरिद गरेको अक्सिजन प्लान्ट आइतबार अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योग सङ्घ मकवानपुरले अक्सिजन प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ३१ जना उद्योगी व्यवसायीबाट सङ्कलित रकमबाट उद्योग सङ्घ मकवानपुरले १ करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।
उद्योग सङ्घ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार तथा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको थियो ।
प्लान्टबाट दैनिक ११५ देखि १२० सिलिन्डर सम्म अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरी अक्सिजन उत्पादन सुरु गरिएको छ ।
अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालको सेवा वृद्धि गर्न प्रदेश सरकार लागेको बताउनुभयो । दुई वर्षभित्र पाँच सय शैयाको अस्पताल निर्माण गर्ने लक्ष्यका साथ भवन निर्माणको काम भइरहेको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रले समेत सहकार्य र सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्