छात्रालाई सशक्त बनाउन रेडियो वितरण

तनहुँ । कोरोना महामारीका कारण विद्यालयहरू बन्द भएपछि विद्यार्थीहरू फुर्सदमा छन् । शहर र इन्टरनेटको पहुँचमा हुनेहरू अनलाइन कक्षामा सहभागी भएता पनि दुर्गम र इन्टरनेटको सुविधा नभएका स्थानका विद्यार्थीहरू भने अध्ययनबाट पुर्ण रुपमा वञ्चित भएका छन् ।
यो अवस्थामा रेडियोमा आउने महिला हिंसा, मानव बेचबिखन, मानवअधिकार, यौनजन्य हिंसा, नेतृत्व विकास लगायतका प्रचार सामाग्री सुनाउने उद्देश्यले तनहुँको एक विद्यालयले रेडियो वितरण गरेको । जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीको सिद्धेश्वरी माध्यमिक विद्यालयले ‘बालिका शिक्षा’ कार्यक्रम अन्तर्गत ३८ जनालाई रेडियो उपलब्ध गराएको हो ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा तथा रुम टु रिड को समन्वयमा उक्त विद्यालयको कक्षा ७, ८ र ९ छात्राहरूलाई रेडियो वितरण गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताउनुभयो । उहाँले विद्यालय बन्द हुँदा फुर्सदमा रहेका विद्यार्थीहरूलाई रेडियोबाट प्रसारण हुने समाचार, जानकारी, महिला हिंसा सम्बन्धी सामाग्री, विद्यार्थी केन्द्रित कार्यक्रमहरूबाट सुनाउन उद्देश्य लिएको जानकारी दिनुभयो ।

‘कोरोना कहरले विद्यालय तत्काल खुल्ने अवस्था छैन, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीको सिकाइका लागी रेडियो कार्यक्रम पनि प्रभावकारी भएको छ’, अधिकारीले भन्नुभयो ‘निषेधाज्ञाको बेला सञ्चालन भएको बालिका सिकाई कार्यक्रमलाई प्रभाकारी बनाउन रेडियो वितरण गरेका हौँ ।’
निषेधाज्ञाको सदुपयोग गर्दै रेडियो मार्फत प्रसारण हुने सचेतनामूलक कार्यक्रमको साथसाथै पठनपाठनमा सहज हुने विश्वास लिएको कक्षा ८ मा अध्ययनरत छात्रा सजना गैह्रेले बताउनुभयो । रुम टु रिड नामक संस्थाले छात्राहरूको घर–घरमा पुगेर अनुगमन गर्दै आर्थिक अभावमा पठनपाठनमा समस्यामा परेकालाई आर्थिक सहयोग गर्ने, अभिभावकसँग प्रत्यक्ष भेटघाट गरेर सुझाव दिने लगायतका काम गर्ने गरेको छ ।
व्यास नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९को लागि रुम टु रिडलाई १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेकोले सोही रकम मध्येबाट रेडियो खरिद गरेर बालिकालाई वितरण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।
दलित र मगरको समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । तामाङ, क्षेत्री र बाहुन न्यून सङ्ख्यामा रहेको जनाइएको छ । गत वर्षदेखि ११ र १२ कक्षाको पढाई सञ्चालनमा ल्याएको विद्यालयमा सिसि क्यामेरा जडान, आइसिटी कक्षा सञ्चालन र आधुनिक लाइब्रेरी स्थापनासँगै आवश्यक भौतिक संरचनाहरू निर्माण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्