तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट ८ करोडको तरकारी निकासी

सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुर कोटबाट तीन महिनाको अवधिमा ८ करोडको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुर कोटबाट जेठ १ गतेदेखि साउन १५ गतेसम्म ८ करोड ४५ लाख ५३ हजार ३०६ रुपैयाँको ताजा तरकारी निकासी भएको छ । 


कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्द्र कपुर कोट सञ्चालक समितिका सचिव तिलक शर्माले जानकारी दिए । किसानहरूले तरकारीको राम्रो मूल्य पाएको भए तापनि रोग किराका कारण यो वर्ष भने ताजा तरकारी उत्पादन निकै घटेको उनको भनाई छ । 
तीन महिनाको अवधिमा १४ हजार ३ सय १९ क्विन्टल ताजा तरकारी जिल्ला बाहिर निकासी भएको सचिव शर्माको भनाई छ । कपुर कोटका अन्य २८ सहायक सङ्कलन केन्द्रबाट पनि तरकारी निकासी भइरहेको उनले बताए । कपुर कोट बेमौसमी तरकारी खेतीका लागि नेपालकै दोस्रो क्षेत्रका रुपमा परिचित रहेको छ । 


किसानहरूले व्यावसायिक तरकारी खेती गर्दै आएपछि गाउँपालिकाले आधुनिक औजार तथा सामाग्रीमा किसानलाई सहयोग गर्नुका साथै बजार व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेको कपुर कोट गाउँपालिकाले जनाएको छ । 


कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा ३ हजार २ सय २ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आइरहेको छ । जसबाट ३९ लाख ४ सय ७५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button