विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण

काठमाडौँ । सिन्धुपाल्चोकमा यस वर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिका आबद्ध अधिकारीहरूले आज सभामुख सापकोटालाई उहाँको निवास लैनचौरमा भेटेर मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेली ब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत्, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानी मर्मत गरी खानेपानीको आधारभूत व्यवस्थापन, नदी तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञहरू, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरूसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले साउन १४ गते गृह मन्त्री बालकृष्ण खाँणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
सभामुख सापकोटाले शुक्रवार ऊर्जा मन्त्री पम्फा भुसालसँगको भेटमा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।
गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितहरूलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागिता सहित ‘इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्