विमानस्थलको छानाको ब्लक खस्दा एक जना गम्भीर घाइते

जनकपुरधाम । जनकपुर विमान स्थलको नव निर्मित टर्मिनल भवनको यात्री प्रतीक्षालयको छानामा रहेको सिमेन्टको बोर्ड आज अचानक एक जना व्यक्ति माथि झर्दा उनी गम्भीर रुपमा घाइते भएका छन् ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको स्वागतका लागि गाडीसहित पुगेका धनुषा जिल्लाको धनौजि गाउँपालिका वडा नंं ५ घर भएका वर्ष ३९ का सवारी चालक उसलेन खानको टाउकोमा छानाको सिमेन्ट बोर्ड झर्दा टाउको फुटेर गम्भीर घाइते भएका छन् ।
घाइते भएका खानलाई तत्काल उद्धार गरेर जनकपुरधामको जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको छ । खानको टाउकोमा १५ वटा टाँका लागेको छ । खानको अवस्था गम्भीर नै रहेको छ ।
यस घटनापछि भवनको गुणवत्तामा ठूलो प्रश्न चिन्ह खडा भएको छ । साथै सर्वसाधारणका लागि पनि जोखिम भएको छ । कुनै पनि बेला थप भाग झर्ने त्रास बढेको छ ।
करिब १ दशक लगाएर निर्माण भएको नयाँ भवनको निर्माणमा दुई वटा कम्पनी सहभागी रहेका थिए । पटक पटक म्याद थप गरेर पप्पु एन्ड एन के कन्स्ट्रक्सन तथा थेगिम गाल्वा उमा एन्ड कम्पनीले भवनको निर्माण गरेका थिए । कम्पनीले भवन निर्माण गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको एक वर्ष पनि भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्