उपभोक्तालाई ठगी गर्ने ५ पसललाई कारबाही

बीरगंज । उपभोक्तालाई ठगी गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीर गन्जको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले आज बाराको जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रका ५ पसललाई कारबाही गरी ८० हजार रुपैयाँ जरिवाना गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिमरा, नगर उद्योग वाणिज्य सङ्घ सिमरा सहितको टोलीले खरिद बिल नदेखाउने बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित विकास जनरल स्टोर्स, आर एन इन्टरप्राइजेज र वडा नम्बर ६ स्थित ओम शिव शक्ति जनरल स्टोर्सलाई २०–२० तथा वडा नम्बर १ स्थित भाइ किराना स्टोर्स र देवदास फेन्सी स्टोर्सलाई १०–१० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिनुभयो ।
बजार अनुगमन टोलीले म्यान नाघेको पेय पदार्थ विक्री गर्ने विकास जनरल स्टोर्सबाट ३ हजार ८ सय ५५ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ भने देवदास फेन्सी स्टोर्सबाट म्याद नाघेका २२ हजार ६ सय ७० रुपैयाँ बराबरको फेन्टा, क्यान बियर, डिउ, स्प्राइट लगायतको पेय पदार्थ समेत नष्ट गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता खत्वेले बताउनुभयो ।
पसल सञ्चालकहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना तथा कारबाही गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख भण्डारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्