धनुषामा दश दिनका लागि निषेधाज्ञा थप

जनकपुरधाम । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समिति धनुषाको आज बसेको बैठकबाट जिल्लामा थप १० दिनका लागि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ ।
कोरोना घट्ने क्रम जारी रहे पनि तेस्रो लहरको सम्भावना रहेकाले आज राति १२ बजेदेखि साउन २० गते १२ बजे रातिसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।
कोरोनाको जोखिम कायम नै रहेकाले शिक्षण संस्थाको पठनपाठन, कोचिङ सेन्टर, विभिन्न आयोगको तयारी कक्षा, जीम खाना, स्वीमिङ्ग पुल, २५ जना भन्दा बढी व्यक्ति भेला हुने गरी कुनै पनि गतिविधि गर्न नपाउने गरी विगतको आदेशलाई निरन्तरता दिइएको हो ।
तर बजार, उद्योग, कलकारखाना, सार्वजनिक यातायात, विश्व विद्यालयको परीक्षा, लोकसेवा आयोगको परीक्षा स्वास्थ्य मापदण्ड सहित सञ्चालनका लागि अनुमति प्रदान गर्ने विगतको निर्णयलाई निरन्तरता दिइएको छ । नेपाल भारतको सीमा नाका भने बन्द नै रहने निर्णय बैठकले गरेको छ ।
खुलेको सरकारी तथा गैर सरकारी कार्यालय, वित्तीय संस्थाहरूमा भिडभाड देखिने गरेकाले भौतिक दूरी कायम गर्ने गरी सेवा प्रदान गर्नका लागि व्यवस्था मिलाउनका लागि सम्बन्धित संस्थाहरूलाई बैठकले निर्देशन पनि दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्