तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित ३१८ विद्यार्थीलाई प्याब्सनको सहयोग

सिन्धुपाल्चोक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयका मेलम्ची बाढी प्रभावित विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रवार मेलम्ची कम्युनिटी इङ्लिस स्कुल र प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको हो । 


दुवै विद्यालयका गरी ३ सय १८ विद्यार्थीलाई सामग्री वितरण गरिएको मेलम्ची कम्युनिटी इङ्लिस स्कुलका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिनकुमार गुरुङले शैक्षिक गतिविधिलाई असहज परिस्थितिमा पनि तत्कालै सहज ढङ्गले सञ्चालन गर्नका लागि सहयोग गरेको बताउनुभयो । उहाँले प्रभावित विद्यार्थीका लागि पाठ्यपुस्तक, पोसाक लगायतका सामग्री प्याब्सनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा केन्द्रीय सदस्य एवम् क्वीक रेस्पोन्स टिमका संयोजक आशिष् श्रेष्ठले प्याब्सनमा आबद्ध विद्यालयबिच सहयोग र समन्वय अति आवश्यक रहेको बताउनुभयो । उहाँले बाढी प्रभावित अभिभावक तथा बालबालिकाका लागि पठनपाठनको समस्या भएमा पनि प्याब्सनले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा मेलम्ची–११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले ठूलो दुःखमा गुज्रिएको अवस्थामा प्याब्सनले देखाएको अग्रसरताले ठूलो आशा पलाएको बताउनुभयो ।


कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष पुष्कर धितालले विद्यालय सञ्चालनका लागि थुप्रै चुनौती भए पनि सामना गर्दै अगाडि बढ्ने बताउनुभयो । 
सिन्धुपाल्चोक प्याब्सनका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य कर्मवाङ्गेला लामा, प्रगति अङ्ग्रेजी माविका प्रिन्सिपल ऋषिराम नेपाल, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, वडा सदस्य टिकादत्त धिताल लगायतको उपस्थिति थियो ।

आज प्रभावित विद्यार्थीका लागि स्कुल ब्याग, कपी, पेन्सिल, पेन लगायतको सामग्री वितरण गरिएको हो । साथै कम्युनिटीका विद्यार्थीको लागि सिम कार्ड समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button