बझाङमा जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना

बझाङ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले यसै वर्षदेखि वितरण गर्ने गरी जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना गरेको छ ।
प्रत्येक वर्ष वितरण गरिने उक्त पुरस्कार ५/५ हजारका दरले तीन जनालाई नगदसहित कदर पत्र र दोसल्ला रहेको छ ।
पहिलो पटक यो पुरस्कार मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह जन्मेको दिन भदौ ७ गते प्रदान गरिनेछ । त्यसका लागि प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासङ्घ बझाङ शाखाका सचिव ललितबहादुर सिंहको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनोट समिति गठन भएको छ ।
उक्त पुरस्कारमा जिल्लामा क्रियाशील पत्रकारहरू मध्येबाट महासङ्घको छनोट समितिले सिफारिस गरेका तीन जनालाई वितरण गरिने छ ।
पत्रकारिताको उद्गमस्थल मानिने बझाङ जिल्लाबाट गोरखापत्रको सञ्चालक तथा सम्पादकको रुपमा काम गर्नुभएको मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह एसियाकै दोस्रो गौतम बुद्धको रुपमा चिनिनु भए पनि राज्यले सिंहलाई चिनाउनका लागि कुनै गतिविधि नगरेकोले नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले सिंहको सम्मानका लागि उक्त पत्रकारिता पुरस्कार स्थापना गरेको नेपाल पत्रकार महासङ्घ बझाङ शाखाका सचिव ललितबहादुर सिंहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्