तपाईँ सुन्दै हुनुहुन्छः

प्राङगारिक तरकारी उत्पादनतर्फ कञ्चनपुरका किसानहरू आकर्षित

कञ्चनपुर । कञ्चनपुरका किसानहरू प्राङगारिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ सिमल फाटाका किसानहरू समूह बनाएर प्राङगारिक तरकारी उत्पादनमा  लागेका हुन । 


समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार विगाहमा प्राङगारिक तरकारी खेती गर्दै आएका छन् । प्लास्टिकका टनेलमा किसानहरूले बोडी, फर्सी, लौका, करेला र काँक्रा लगायतका तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन् । किसानहरूले तरकारी बालीमा जैविक मलको प्रयोग गर्दै आएका छन् । 


दैनिक सिमल फाटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङगारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिएको छ । प्राङगारिक तरकारी उत्पादनमा लागेका किसानहरूले दैनिक चार हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।


प्राङगारिक तरकारी उत्पादनमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा पुनः स्थापना गरिएका हुन । उनीहरूको स्वामित्वको १० कट्ठा जग्गा छ । सोही जग्गामा ती परिवारले प्राङगारिक तरकारी खेती गर्दै आएका छन् । 

प्राङगारिक तरकारी खेतीमा संलग्न किसानको आर्थिक अवस्था विगतका तुलनामा निकै सुधार आएको स्थानीय वसन्ती विष्टले बताउनुभयो । 
कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको प्राङगारिक मिसन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत अनुदान रकम २७ लाख समेत उपलब्ध गराइएको छ । 


प्राङगारिक तरकारीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल प्रभाव पर्दैन भन्ने कुरा ग्राहकलाई बुझाउन सचेतनाका कार्यक्रम पनि अगाडि बढाइएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button