दलित समुदायले आर्थिक उपार्जनका लागी सुँगुर पालन गर्ने

तनहुँ । तनहुँको भिमाद नगरपालिका ९ स्थित थामडाँडाका दलित समुदायले आर्थिक उपार्जनका लागी सुँगुर पालन गर्ने भएका छन् ।
वडा कार्यालयको ‘समृद्ध जीवन, सुनौलो कृषि अभियान’ अन्तर्गत अनुदानमा कालो सुँगुर (च्वाँचे)को पाठापाठी पाएपछि यहाँका १९ परिवार सुँगुर पालनमा लागेका हुन् ।
सामूहिक रुपमा व्यावसायिक सुँगुर पालन गर्ने तयारी गरेको स्थानीय जितबहादुर विकले बताउनुभयो । विकका अनुसार सुँगुर पाल्न चाहने घर परिवारलाई वडाले दुई वटाका दरले सुँगुरका पाठापाठी उपलब्ध गराएको छ ।
कालो सुँगुरको मासुको माग बजारमा अत्यधिक भएकाले आर्थिक उपार्जनमा राम्रो टेवा पुग्ने दलित समुदायको विश्वास छ ।
आर्थिक रुपमा विपन्न परिवारलाई वडाको अभियानले सघाउने वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । उहाँले पाठापाठी र खोर निर्माणका लागी समेत अनुदान दिइने जानकारी दिनुभयो । उहाँका अनुसार वडाले थाम डाँडाको समूहलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
‘संवृद्ध जीवन, सुनौलो कृषि अभियान’ अन्तर्गत भिमाद–९ को सखेपमा कुखुरापालन, मोहोरियामा बंगुर र बाख्रा पालन, कटन छापमा बाख्रा पालन, असपाक्दी भाट डाँडामा मौरी पालन सुरु गरिएको छ । किसान र वडाले ५०/५० प्रतिशत लागत साझेदारी गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्