नेपाली सेनाको साङ्गठनिक पुनर्संरचना स्वीकृत

काठमाडौँ । नेपाली सेनाले ३ जोड १ कमाण्ड अवधारणा सहितको सांगठनिक पुनर्संरचना आजबाट कार्यान्वयनमा ल्याएको छ ।
गत असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको नेपाली सेनाको सांगठनिक पुनर्सरचना आजबाट कार्यान्वयनमा आएको हो ।
आजबाट सुरु भएको साङ्गठनिक पुनर्संरचना आगामी २०८१ असार मसान्तसम्ममा पूर्ण कार्यान्वयन भई सक्ने र आजैबाट ४ वटा कमान्ड हेड क्वाटरहरू पूर्ण रुपमा सञ्चालनमा आइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।
नेपाली सेनाको संवैधानिक र अन्य जिम्मेवारीहरूलाई थप असरदार रुपमा सम्पादन गर्ने लक्षका साथ नेपाल सरकारले स्वीकृत गरेको नेपाली सेनाको ३ जोड १ कमान्ड अवधारणा लाई कार्यान्वयन गर्नका लागि यो साङ्गठनिक संरचना आवश्यक रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
अन्तर्राष्ट्रिय, क्षेत्रिय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी नेपाली सेनालाई समयानुकूल थप व्यावसायिक, अनुकूल, चलायमान र गतिशील बनाउन पनि यस प्रकारको संरचनामा परिवर्तन आवश्यक रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको साङ्गठनिक पुनर्संरचनाले प्रकृति र पर्यावरण संरक्षण एवं विपद् व्यवस्थापनमा टेवा पुग्ने गरी सङ्गठनात्मक क्षमता बढाइएको, सामरिक महत्त्वका स्थान, पुरातात्त्विक सम्पदा तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको सुरक्षाको लागि आवश्यक अङ्ग थप गरिएको, सैनिक हवाई क्षमतालाई क्रमिक रूपमा विस्तार गर्दै सैनिक वायु सेवामा स्तरोन्नति गर्ने गरी थप एयर वेश खडा गरिएको र सबै प्रकारका वर्तमान र भावी चुनौतीहरू सामना गर्न सक्ने आधुनिक सेनाको परिकल्पना अनुसारको क्षमताहरू हासिल गर्न आधार तयार हुने सेनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्