फेरी अन्योलमा मेलम्ची खानेपानी

काठमाडौँ । वर्षौँ देखिको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँ आएपछि खुसी भएका काठमाडौँ बासीले फेरी मेलम्चीको पानी पिउन केही समय पर्खनुपर्ने भएको छ ।
वर्षाको सुरुवातमै लगातार परेको पानीका कारण आएको बाढीले ठुलो क्षति पुर्याएको र बाढी आउने क्रम अझै नरोकिएकाले आयोजनाको काम कहिलेबाट सुरु गर्न सकिन्छ भन्नेमा नै अन्योल रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । योसँगै मेलम्चीको पानी काठमाडौँमा फेरि कहिले आइपुग्छ भन्ने अनिश्चित जस्तै भएको छ ।
असार १ गतेदेखि लगातार परेको पानीपछि आएको बाढीले आयोजनाको मुख्य बाँध स्थलमा क्षति पुर्याएको छ भने ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ । निरन्तर परिरहेको पानी र बाढीका कारण अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा पुगेर पूर्ण रुपमा स्थलगत अध्ययन गर्न समेत सकिएको छैन ।
हेलिकोप्टर तथा ड्रोनबाट गरिएको अवलोकन र केही इन्जिनियरहरूको टोलीले पुग्न सकिने ठाउँसम्म गएर गरेको प्रारम्भिक अवलोकनका आधारमा ‘हेडवक्स’ का सबै संरचना पुरिएको, बाँध स्थल तथा पानी पठाउने मुख्य द्वार पनि पुरिएकाले १ अर्ब ८८ करोड बराबरको क्षति भएको अनुमान गरिएको आयोजनाले जनाएको छ ।
मेलम्ची बजारदेखि ‘हेडवक्स’ भएको ठाउँ अम्बाथानसम्मको पहुँच मार्ग पुन निर्माण गर्ने र पुरस्थापना गर्ने सम्बन्धमा त्यसको कार्य योजना सम्बन्धित ठाउँमा पेस गरिएको र त्यसका लागि छलफल भइरहेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामकुमार रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँदेखि मेलम्ची बजारसम्मको बाटोमा बाढीले खासै असर नपारेको तर मेलम्ची बजारदेखि आयोजनास्थल हेडवक्स भएको ठाउँ अम्बाथानसम्म २२ किलोमिटरमध्ये झन्डै ८ किलोमिटर बाटो बगाएकाले सबैभन्दा पहिले त्यो पहुँच मार्ग निर्माण गर्नुपर्ने देखिन्छ । योसँगै ‘हेडवक्स’ लगायतका केही संरचनाहरू पुरिएको अवस्थामा रहेकाले यसको क्षति पुरा गर्ने गरी काम गर्न थप बजेट निकासा र अन्य निकायहरुसंगको सहयोग प्राप्त गर्नका लागि पहल भइरहेको पनि आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
मेलम्ची आयोजनाको पुनर्निर्माणका लागि सम्बन्धित सबै पक्षहरु सडक एवं पुल निर्माणका लागि सडक विभाग, जलाधार संरक्षणका लागि भूसंरक्षण तथा जलाधार संरक्षण विभाग, नदी नियन्त्रणका लागि सम्बन्धित विभागमार्फत जान सकियो भने काम छिटो सम्पन्न हुने आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना रहेको स्थानमा निरन्तर बाढी आउने र क्षति हुने क्रम नरोकिएकाले कहिलेबाट आयोजनाको पुन निर्माणको काम सुरु गर्न सकिन्छ र यसमा कति खर्च लाग्छ भन्ने यकिन भने हुन नसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
पुरिएको नदी फेरी खनेर पुरानै अवस्थामा ल्याउन सकिएन भने पुरानो संरचनाले काम नगर्ने भएकाले यसको पुन निर्माणका लागि ४ अर्ब लाग्न सक्ने प्रारम्भिक अनुमान आयोजनाको रहेको छ ।
सरकारका आवश्यक र सम्बन्धित सबै निकाय परिचालन गर्न सकेमा चाँडै नै मेलम्चीको पानी ल्याउन सकिने आशा गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।
वर्षायाम सकिएर बाढीको प्रभाव कम भएपछि पुनर्निर्माणको काम काम सुरु गर्न सकिने भएकाले त्यसपछि मात्रै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पुनः ल्याउने कुराको टुङ्गो लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्