कञ्चनपुरका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित
कञ्चनपुर । कञ्चनपुरका किसानहरू व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्रबाट केरा खेतीका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग समेत प्राप्त गरेपछि किसानहरू व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ताका करमसिंह रानाले केरा खेतीलाई व्यावसायिक रूपमा अँगाल्दै आउनुभएको छ । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उहाँ पर्नुहुन्छ ।
सुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गर्नु भएको छ ।
सुरुमा एक्लैले केरा खेती गर्दै आएका रानाले हाल भतिजा प्रताप रानालाई समेत साझेदारका रूपमा लिएर केरा खेतीलाई अगाडि बढाउनुभएको छ । गत वर्ष कृषि ज्ञान केन्द्रबाट उहाँले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गर्नु भएको थियो ।
भारतीय केरालाई निर्बाध रूपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको केरा किसानहरूको गुनासो छ ।
त्यस क्षेत्रमा उत्पादित केरा डडेलधुरा, महेन्द्रनगर, धनगढी अत्तरिया लगायतका बजारका व्यापारीले नगदमै केरा किनेर लैजाने गरेका छन् । उत्पादित केरा बिक्रीको लागि बजारको समेत समस्या नभएको किसानहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्